प्रदर्शनको संघारमा रहेको चलचित्र 'घामड शेरे' कलाकार तथा निर्देशक आशिफ शाहको फेसबुक पोस्टले गर्दा विवादमा तानिएको छ । शनिवार उनले चलचित्र ‘घामड शेरे’को पोस्टर र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको फोटो सँगै राखेर पोस्ट गरेका थिए । जसको कारण उनले सार्वजनिक रूपमा आलोचना खेप्नु पर्‍यो र माफी समेत माग्नु पर्‍यो । आगामी कार्तिक २२ गते रिलिज हुने निश्चल बस्नेत स्टारर चलचित्रको प्रमोसनको लागी गरेको पोस्टलाई लिएर काँग्रेसका भ्रातृ सङ्गठन नेविसंघ र तरुण दलले साहले सार्वजनिक रूपमा माफी माग्नु पर्ने भन्दै विरोध गरेका थिए । नेविसंघ बैतडीका जिल्ला सभापति कपिल केसीले एक स्टाटस लेख्दै फिल्म ‘घामड शेरे’ सुदूरपश्चिमका कुनै पनि हलमा चल्न नदिने उद्घोष समेत गरेका छन् । काँग्रेसका भ्रातृ सङ्गठन नेविसंघ र तरुण दलको विरोधपछि शाहले अर्को एक स्टाटस पोस्ट गर्दै अघिल्लो पोस्टबारे स्पष्टीकरण दिएका छन् ।

'घामड शेरे'को पोस्टमा देउवाको अपमान: आसिफले मागे माफी

आफूले कोही व्यक्ति वा संस्थाको भावनामा चोट पुर्‍याउन नचाहेको र आफू कुनै राजनीतिक दलसँग नजोडिएको साथै हल्का ठट्यौली मात्र गरेको र कसैमाथि चोट परेको भए माफी माग्छु भनेका छन् । आगामी शुक्रवारबाट रिलिज हुने 'घामड शेरे'लाई हेमराज बिसीले निर्देशन गरेका छन् । चलचित्रमा बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याललगायतका कलाकारको पनि अभिनय छ । निर्देशक बिसीकै कथा, पटकथा रहेको चलचित्रलाई कर्णाली प्रदेशको सुर्खेत र सल्यान जिल्लामा खिचिएको छ । बिसी मोसन पिक्चर्सको ब्यानरमा निर्मित चलचित्रमा कालीप्रसाद बास्कोटाको सङ्गीत, नरेन्द्र मैनालीको डिओपी र सुरेन्द्र पौडेलको सम्पादन छ । नरेन्द्र विक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेको सिनेमामा निर्देशक बिसी र सिमोश सुनुवारको लगानी छ ।