नेपाली चलचित्रमा मात्र नभएर बलिउडमा समेत आफ्नो राम्रो छवि बनाउन सफल अभिनेता कलाकार सुनिल थापा खल पात्रको भूमिकामा निकै रुचाएका कलाकार हुन् । उनले सन् १९६४ मा चेतन आनन्दको चर्चित चलचित्र ‘साहिब बहादुर’ बाट उनले बलिउडमा डेब्यू गरेका थिए । पछिल्लो पटक उनले प्रियंका चोपडा अभिनीत ‘मेरी कोम’ मा काम गरेका थिए । त्यसपछि नेपाल मै व्यस्त रहेका सुनिलले सलमान खानको प्रोडक्सन हाउसले निर्माण गर्न लागेको चलचित्र ‘क्वाथा’ मा अभिनय गर्ने भएका छन् । यस चलचित्रमा बलिउड अभिनेत्री कैटरीना कैफकी बहिनी इसाबेल कैफले डेब्यू गर्न लागेकी छिन् । सुनिलले चलचित्रमा भारतको मणिपुर राज्यको एक मुखियाको भूमिका निभाउनेछन् । करण भुटानीले निर्देशन गर्ने चलचित्रमा आयुष शर्माको प्रमुख भूमिका रहने छ । सुनिल चाँडै नै मुम्बई गएर कागजी रूपमा सम्झौता गर्ने र चलचित्रको छायाङ्कन जनवरीदेखि हुने बुझिएको छ ।