सातै प्रदेशमा साङ्गीतिक प्रस्तुति गर्दै एकता र सद्भाव बाँड्ने लक्ष्यका साथ पहिलो संस्करण सफलता पूर्वक सम्पन्न गरेको सप्तरङ्गको दोस्रो संस्करण यही कार्तिक २१ गते बिहीबारबाट सुरु हुँदै छ । सप्तरङ्गको तयारीको अन्तिममा आइपुग्दा आयोजकले पत्रकार सम्मेलनको आयोजना गरेकोछ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै कार्यक्रमको तयारी सम्पन्न भएको जानकारी सहित कार्यक्रमका मुख्य आकर्षण रहेका कलाकार तथा गायकहरू समेत सहभागी भएका थिए । कार्यक्रममा महानायक राजेश हमाल, गायक सुगम पोख्रेल, प्रकाश सपुत, रवि ओड लगायत कलाकारको उपस्थिति रहेको थियो । कार्यक्रममा कुराकानीका क्रममा उपस्थित कलाकारले कुनै पनि कलाकारले आफूले रचना गर्ने रचना या भनौँ गीत सङ्गीतलाई कलाकार आफैँले सेन्सर गर्नु पर्नेमा जोड दिए । पछिल्लो समय गीतमा समावेश भएका शब्दले नेपाली संस्कार, विश्वास र समाजका विरुद्ध भएको र समाजलाई गलत दिशातर्फ लाने आरोपमा एक पछि अर्को गायकलाई प्रहरीको फन्दामा पर्दै आएका छन् ।
लोकतान्त्रिक समाजमा एउटा कलाकारको सृजना गर्ने स्वतन्त्रता र अधिकारलाई कसैले लगाम लगाउन र रोकथाम गर्न मिल्दैन तर कुनै पनि रचनालाई कुन समुदाय कुन समूह र कुन परिस्थितिमा समेट्ने त्यो नियम र संस्कार सरकारले भित्र्याउनु पर्ने महानायक राजेश हमाल बताउँछन् । यसै गरी गायक सुगम पोख्रेल पनि कुनै पनि व्यक्तिले सम्मानजनक व्यक्तिको नाम लिँदा वा नाम प्रयोग गर्दा कसैको व्यक्तिगत जीवनमा नराम्रो असार नपर्ने गरी लिनु पर्छ । त्यसमा कानुनको कुरा भन्दा पनि आत्मसम्मानको कुरा आउने बताउँछन् । उनी थप्छन्, 'आफूले लिइएको नामको अपमान हुने गरी कहिल्यै प्रयोग गर्नु हुँदैन' । चाहे कुनै जनराको कलामा अरूको अपमान गर्ने छुट दिइए पनि कलाकारले आफै सचेत हुनुपर्ने सबै कलाकारको आशय रहेको छ ।