विभिन्न राष्ट्रिय तथा अन्त राष्ट्रिय फिल्म अवार्ड हात पार्न सफल चलचित्र 'बुलबुल' प्रतिष्ठित फिल्म फेस्टिभल मध्यको एक 'साउथ एसियन फिल्म फेस्टिभल’ मा छनोट भएको छ । फेस्टिभल जनवरी २८ देखि फेब्रुअरी २ सम्म चल्ने फेस्टिभल फ्रान्सको पेरिसमा हुँदै छ । चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको छ भने आयोजकले स्वस्तिमालाई विशेष निम्ता पठाएको छ । निर्देशक विनोद पौडेलले स्वस्तिमा र आफू अवार्डमा सहभागी हुन पेरिस जाने योजना रहेको बताएका छन् । 'साउथ एसियन फिल्म फेस्टिभल’का यस अघिका संस्करणमा मीन भामको ‘कालो पोथी’ र दीपक रौनियारको ‘ह्वाइट सन’ पनि छनोट भएका थिए । साउथ अफ्रिकाको ट्युनिसियामा हुने कथाज फिल्म फेस्टिभलको एसियन सेक्सनमा ‘बुलबुल’ले तीन वटा स्क्रिनिङ पाएको छ ।
विनोद पौडेल निर्देशित चलचित्रमा स्वस्तिमाको अलावा मुकुन भुसाल , बुद्धि तामाङ, लक्ष्मी बर्देवा, उज्ज्ल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्की लगायतको मुख्य भूमिका रहेको छ। सुसन प्रजापतिको छायाङ्कन रहेको चलचित्रलाई विनोद पौडेलले लेखेका हुन् । चलचित्रमा पुरुषोत्तम पाण्डे, अविरल थापा, भीम थापा र राजु पौडेलको संयुक्त लगानी रहेको छ । रामराजा दाहाल चलचित्रका कार्यकारी निर्माता हुन् ।