साम्तेन भुटियाको निर्देशनमा तयार भएको फिल्म 'सुस्केरा' आगामी पौष १८ मा रिलिज हुने भएको छ । चलचित्र ‘लेटर’ बाट निर्देशनमा होमिएका साम्तेनले चलचित्रको छायाङ्कन तिन वर्ष अगाडी नै सकाएका थिए । राजधानीमा एक कार्यक्रम आयोजना गर्दै साम्तेनले प्राविधिक कारणले रिलिजमा ढिलाइ भएता पनि यसले फिल्मको विषयवस्तुलाई असर नगर्ने निर्माण पक्षले बताएका छन् । चलचित्रमा सुरक्षा पन्त र स्वरूप पुरुष ढकालको मुख्य भूमिका रहेका छ । चलचित्रलाई एसपी ढकाल र सिके ढकालले निर्माण गरेका हुन् भने चलचित्रका लेखक पनि साम्तेन नै हुन् । 'सुस्केरा'मा मिथिला शर्मा, शिशिर बाङ्देल, सिद्धार्थ उपाध्यायको पनि अभिनय रहेको छ ।

चलचित्र  पूर्णतः प्रेमकथामा आधारित रहेको छ र सामान्यतया प्रेम भन्ने बित्तिकै जुन सोचाइ हामीमा आउँछ त्यो भन्दा फरक प्रस्तुति चलचित्रमा गरिएको साम्तेनले बताएका छन् । प्राविधिक कारणले रोकिएको चलचित्र सोमबार वितरकसँग सम्झौता भएसँगै पौष १८ बाट दर्शकमाझ आउने पक्का भएको हो । फिल्मलाई काठमाडौँमा करण क्रेजी श्रेष्ठको रीच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ । साम्तेन निर्देशित चलचित्र 'च च हुई'आगामी मङ्सिर ६ मा रिलिज गर्ने तयारीमा रहेको छ ।