कार्तिक आर्यन र नायिकाद्धय भूमि पेन्डेकर र अनन्या पाण्डेको मुख्य भूमिका रहेको चलचित्र ‘पति, पत्नी और ओ’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार इन्टरनेटमा सार्वजनिक गरिएको ट्रेलरमा ‘सेक्स’ सम्बन्धी विषयवस्तुलाई प्राथमिकता दिइएको छ । ट्रेलर सार्वजनिक भएसँगै चलचित्रले यसै विषय उठाएको चर्चा बजारमा चल्न थालेको छ तर चलचित्रकी नायिका भूमिका अनुसार चलचित्र कमेडी कथामा आधारित रहेको र निकै राम्रो सन्देश दिने बताउँछिन् । उनका अनुसार चलचित्रले महिला र पुरुषको कथालाई समान रूपमा उठान गरेको छ । चलचित्र निर्माण टिम चलचित्रको कथालाई टुङ्ग्याउँदा नै सेक्सलाई नै महत्त्व दिएर सकिनु हुँदैन भन्नेमा सचेत भएको र चलचित्रको कथाले आफूलाई निकै आकर्षित गरेको उनको भनाइ छ । आगामी ६ डिसेम्बरमा रिलिज हुने यस चलचित्रलाई मुदस्सर अजिजले निर्देशन गरेका हुन् । साथै चलचित्रलाई भुशन कुमार, रेनु रवि चोप्रा, कृशन कुमारले निर्माण गरेका हुन् । यस चलचित्र सन् १९७८मा बनेको चलचित्र ‘पति, पत्नी और ओ’ कै रिमेक हो ।