साहित्यकार झमक घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र यही कात्तिक २२ गतेदेखि देशभर प्रदर्शनमा आउँदै छ ।  विनोद विष्टले निर्देशन गरेको चलचित्रमा घिमिरेको जन्मदेखि मदन पुरस्कार प्राप्त गर्दा सम्मको सङ्घर्षलाई समावेश गरिएको छ । विष्ट व्रदर फिल्म प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रमा मुक्ति उपाध्याय बरालको पटकथा-संवाद रहेको छ । गत चैत २२ गते प्रदर्शनमा ल्याउने तयारी गरिएको चलचित्रलाई विविध कारणवश तोकिएको समयमा रिलिज गर्न नसकिएको बताउँदै आएको निर्माण पक्षले घिमिरेले अपाङ्गता भएकै कारण बाल्यकालमा भोग्नुपरेको सामाजिक, पारिवारिक घृणा र तिरस्कार र सफल तालाई समेटेको छ । घिमिरेको पुस्तकलाई चलचित्रमा ढाल्नका लागि निर्माण टिमले लामो तयारी समेत गरेको थियो ।

चलचित्र घिमिरेको जन्मस्थान धनकुटा, धरानको विपी मेमोरियल अस्पताल र काठमाडौँको रातो बङ्गलामा छायाङ्कन गरिएको छ भने घिमिरेको बाल्यकालको भूमिकामा अवस्था थापा, युवावस्थामा रोजिता बुद्धचार्य र बहिनीको भूमिकामा सारिका घिमिरेको विशेष भूमिका रहेको छ । निर्देशक विष्टले घिमिरेको जीवनीले धेरै मानिसलाई प्रेरणा दिने र सो उद्देश्यसहित बनेको चलचित्रलाई बच्चादेखि ज्येष्ठ नागरिकसम्मले मन पराउने आशा व्यक्त गरे । चलचित्रको प्रिमियर शाे गत वर्ष नै अस्ट्रियाको भियनामा गरिएको र चलचित्र हेरिसकेपछि दर्शकले राम्रो प्रतिक्रिया दिएको पनि टिमको भनाइ छ । साहित्यकार घिमिरेले आफ्नो जीवनीमा बनेको चलचित्र प्रदर्शनमा आउने भएपछि उत्साहित हुँदै ‘मेरो पुस्तकमा आधारित चलचित्र प्रदर्शनी हुने खबरले खुसी छु,’ भन्ने प्रतिक्रिया दिएकी छिन् । उनले भनेकी छिन्, ‘यो मेरो र परिवारको मात्र कथा नभएर साढे तीन दशकअघिको नेपाली ग्रामीण समाजको चित्रणका रूपमा सबैको बुझाइ रहोस् भन्ने आग्रह गर्छु।’  शिव ढकालको छायाङ्कन, तारा थापा ‘किम्भे’को सम्पादन, रीता बलामी र विमला तामाङको मेकअप रहेको चलचित्रको सह-निर्माता बद्री चौहान, उमेश सुवेदी र जुनु गौतम रहेका छन्। चलचित्रलाई श्रीराम बालाजी टेलीफिल्म सुनिल मानन्धरले वितरण गर्दै छन्। चलचित्रका यसअघि पोस्टर, गीत र ट्रेलर सार्वजनिक भएका छन्।