मल्टिप्लेक्समा कम सोज पाएपछि रिलिजको दुई दिन अघि रिलिज मिति पर सारेको चलचित्र 'घामड शेरे' यति बेला विवादमा तानिएको छ । सामाजिक सञ्जालमा चलचित्रको नामसँग पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको नामसँग जोडिएर आएका ट्रोल ले विवाद निम्त्याएको हो । चलचित्रको पात्र शेरेलाई नेपाली शेरबहादुर देउवासँग जोडेर विभिन्न ट्रोलहरु बनेका थिए । सामाजिक सञ्जालमा ट्रोलहरु भाइरल भए । पार्टी सभापतिको अपमान गरेको भन्दै काँग्रेस भातृ सङ्गठनले निर्माण युनिटसँग विवाद मच्चाएको थियो । यसै सम्बन्धी विवाद अन्त्य गर्न आगामी शुक्रवार रिलिज हुन लागेको चलचित्रको निर्माण पक्षले प्रेस विज्ञप्ति जारी गरेको छ । बुधवार पत्रकार भेटघाट कार्यक्रम गर्दै निर्माण कम्पनी ‘विसी मोसन पिक्चर्स’ले विज्ञप्ति जारी गरेको हो । विज्ञप्तिमा चलचित्रको ‘शेरे’ पात्रको साइनो शेरबहादुर देउवासँग कतैपनि नजोडिएको निर्माण पक्षको स्पष्टोक्ति छ।
यसका साथै विज्ञप्तिमा राजनीतिक व्यक्तित्वको गरिमामा आँच आउने गरी भएको सामाजिक सञ्जाल दुरुपयोगमा निर्माण पक्षको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । सामाजिक सञ्जालमा गरिएका ट्रोलहरुमा निर्माण पक्षको कुनै संलग्नता र समर्थन नभएको पनि खुलाइएको छ । सम्बन्धित पक्षमा पर्न गएको असर र असुविधा प्रति निर्माण पक्षले क्षमा माग्दै आगामी दिनमा त्यस्ता कामहरू नगर्न र गर्न नदिन निर्माण पक्षले सल्लाह पनि दिएको छ । हेमराज बिसीको लेखन, निर्देशन र कथामा निर्माण भएको चलचित्रमा निश्चल बस्नेत, स्वस्तिमा खड्का, सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याललगायतका कलाकारको अभिनय रहेको छ ।