आज शुक्रवारबाट हलमा दुई नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । कात्तिक ८ गते नै प्रदर्शनमा आउनु पर्ने चलचित्र 'घामड शेरे' र साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित 'जीवन काँडा कि फूल' प्रदर्शनमा आएका छन् । हेमराज बिसी निर्देशित 'घामड शेरे'मा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का प्रमुख भूमिकामा छन् । मल्टीप्लेक्समा चलचित्रले राम्रो सोज हात पारेको छ भने अधिकांश मल्टीप्लेक्सहरुले बुकिङ बुधवारबाटै खुल्ला गरेका थिए । राजधानी भित्र १७ सोज हात पारेको यस चलचित्रले राजधानी बाहिर १२ सोज पाएको छ । हेमराज बिसीकै लेखन, निर्देशन र कथामा निर्माण भएको चलचित्रमा निश्चल बस्नेत, स्वस्तिमा खड्का, सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याललगायतका कलाकारको अभिनय रहेको छ । 
 

विनोद विष्टले निर्देशन गरेको 'जीवन काँडा कि फूल'मा घिमिरेको जन्मदेखि मदन पुरस्कार प्राप्त गर्दा सम्मको सङ्घर्षलाई समावेश गरिएको छ । विष्ट व्रदर फिल्म प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रमा मुक्ति उपाध्याय बरालको पटकथा-संवाद रहेको छ । गत चैत २२ गते प्रदर्शनमा ल्याउने तयारी गरिएको चलचित्रलाई विविध कारणवश तोकिएको समयमा रिलिज गर्न नसकिएको बताउँदै आएको निर्माण पक्षले घिमिरेले अपाङ्गता भएकै कारण बाल्यकालमा भोग्नुपरेको सामाजिक, पारिवारिक घृणा र तिरस्कार र सफल तालाई समेटेको छ । चलचित्रमा शिव ढकालको छायाङ्कन, तारा थापा ‘किम्भे’को सम्पादन, रीता बलामी र विमला तामाङको मेकअप रहेको चलचित्रको सह-निर्माता बद्री चौहान, उमेश सुवेदी र जुनु गौतम रहेका छन्।