आजबाट प्रदर्शनमा आएको चलचित्र ‘घामड शेरे’ले हिजो बिहीबार प्रिमियर सो आयोजना गरेको थियो । भक्तपुरको भाट-भटेनीमा नयाँ खुलेको क्युएफएक्स मल्टीप्लेक्समा पहिलो चलचित्र स्वरूप ‘घामड शेरे’ प्रिमियर गरिएको हो । प्रिमियरमा उपस्थित कलाकार तथा अतिथिले चलचित्र निकै राम्रो बनेको प्रतिक्रिया दिएका छन् भने निर्देशक हेमराज बिसीको कामको तारिफ गरेका छन् । चलचित्रको कथावस्तु, प्रस्तुति, अभिनय, छायाङ्कन तथा समग्र प्राविधिक पाटो बलियो भएको प्रतिक्रिया दिइएको छ । प्रिमियरमा चलचित्रका मुख्य अभिनेता निश्चल र स्वस्तिमा उपस्थित थिएनन् । चलचित्रमा निश्चल बस्नेत शेरेको भूमिकामा छन् जसको जीवनमा आइपरेको उतारचढाव देखाइएको छ । चलचित्रमा स्वस्तिमा खड्काले ‘घामड शेरे’को सालीको भूमिका निर्वाह गरेकी छन् । भने, सुष्मा निरौला पत्नीको भूमिकामा छिन् । मुख्य अभिनेता निश्चललाई फरक र कमेडी स्वरूपमा देखाएको छ ।

चलचित्रमा बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याललगायतका कलाकारको पनि अभिनय छ । निर्देशक बिसीकै कथा, पटकथा रहेको चलचित्रलाई कर्णाली प्रदेशको सुर्खेत र सल्यान जिल्लामा खिचिएको छ । बिसी मोसन पिक्चर्सको ब्यानरमा निर्मित चलचित्रमा कालीप्रसाद बास्कोटाको सङ्गीत, नरेन्द्र मैनालीको डिओपी र सुरेन्द्र पौडेलको सम्पादन छ । नरेन्द्रविक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेको सिनेमामा निर्देशक बिसी र सिमोश सुनुवारको लगानी छ ।