चलचित्र 'लिलीबिली' को पैसाको कारोबारको कारण चलचित्र निर्माता तथा वितरक गोविन्द शाहीलाई केही समय अघि प्रहरीले हिरासतमा लिएको थियो । चलचित्र ‘लिलीबिली’का निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्काले वितरक शाही विरुद्ध करिब एक वर्ष अगाडी अपराध महाशाखामा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा शाहीलाई भदौ ४ गते सोधपुछका लागि समातिएको थियो । सर्वोच्च अदालतले बुधवार गरेको आदेशपछि उनी १४ दिन लामो हिरासतबाट मुक्त गरिएको थियो । उनै शाहीलाई प्रहरीले पुनः पक्राउ गरेको छ । बिहीबार दिउँसो भक्तपुरको राधेराधेमा रहेको भाटभटेनीमा सञ्चालनमा आएको क्यूएफएक्सको नयाँ शाखामा फिल्म ‘घामड शेरे’ हेर्न पुगेका उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको हो । शाहीलाई बिहीबार नै कालीमाटी वृत्तको जिम्मा लगाइएको छ । अदालतले पटक-पटक उपस्थिति हुन गरेको आदेश नमानेपछि जरुरी पक्राउ पुर्जी जारी गरेर उनलाई पक्राउ गरिएको हो ।