सातै प्रदेशमा साङ्गीतिक प्रस्तुति गर्दै एकता र सद्भाव बाँड्ने लक्ष्यका साथ पहिलो संस्करण सफलता पूर्वक सम्पन्न गरेको सप्तरङ्गको दोस्रो संस्करण हिजो झापाको बिर्तामोडबाट सुरु भएको थियो । कार्यक्रमको दोस्रो दिन प्रदेश नम्बर दुईको वीरगन्जमा आज सम्पन्न भएको छ । कार्यक्रमको दोस्रो दिन नायक राजेश हमाल लगायत कलाकारले आ- आफ्नो प्रस्तुति दिए । यसै क्रममा वीरगन्जकी एसिड पीडित मुस्कानको परिवारलाई प्रायोजक टिभिएस अपाचेले स्कुटर प्रदान गरेको छ । कार्यक्रमका सात रङमा एक रहेका महानायक राजेश हमाल ले मुस्कानका बुवा आमालाई स्कुटर हस्तान्तरण गरे । उनले कार्यक्रममा आफ्नो वीरगन्जसँग जोडिएको आफ्नो स्मरण सुनाए । कार्यक्रममा गायिका मेलिना राई लगायत कलाकारको टिमले प्रस्तुति दिएको थियो ।

कार्यक्रममा प्रदेश नं दुईका मुख्य मन्त्री लगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो । ग्रीष्मा ब्रोडकास्टिङले आयोजना गरेको कार्यक्रममा राजेश हमाल लगायत गायिका मेलिना राई, गायक सुगम पोखरेल, गायक हिमाल सागर, गायक प्रकाश सपुत, रवि ओढ र जितु नेपालको सहभागी रहनेछ । कार्तिक २१ गते बिर्तामोडबाट सुरु भएको कार्यक्रम २२ गते वीरगन्जसँगै, २४ गते चितवन, २६ गते नेपालगन्ज, २८ गते सुर्खेत, ३० गते महेन्द्रनगर र ४ गते पोखरामा पुगेर सकिनेछ । ‘सप्तरङ्ग २’ मा अफिसियल एमसीको रूपमा नरेश भट्टराई , विवेक खतिवडा र पूजन थापा रहेका छन् ।