आगामी मङ्सिर ६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘च च हुई’ को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । फिल्मको गीत र ट्रेलर सार्वजनिक भइसकेपछि पनि क्यारेक्टरलाई थप चिनाउन निर्माण टिमले क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको बताइएको छ । चलचित्रका मुख्य चार क्यारेक्टर प्रेम अर्थात् आर्यन सिग्देल , भोला अर्थात् भोलाराज सापकोटा , संगीता अर्थात् मिरुना मगर र श्यामलाल अर्थात् माओत्से गुरुङको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो । लभर व्वाइको भूमिकामा खुबै रुचाइएका आर्यन सिग्देल पहिलो पटक कमेडी जनराको चलचित्रमा देखिँदै छन् ।

दुई बेकमिले युवाको जीवनमा एउटा किताबले ल्याउने उतारचढावलाई चलचित्रमा रमाइलो तरिकाले चित्रण गरिएको छ । साम्तेन भुटियाको निर्देशनमा बनेको चलचित्रमा आर्यन सिग्देल, भोलाराज सापकोटा, मीरुना मगर र माओत्से गुरुङ लगायत कलाकारको मुख्य भूमिका रहेको छ भने दुई बेकामे युवकको भूमिका आर्यन र भोलाराज देखिन्छन् । जीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता अमृत घोले लामा हुन् । भने चलचित्रको पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । 'च च हुई'मा सुशन प्रजापतिको छायाङ्कन, श्री श्रेष्ठको द्वन्द्व, शिशिर खातीको कोरियोग्राफी र राजनराज सिवाकोटी रोशन थापाको सङ्गीत रहेको छ ।