गीतकार डा. डीआर उपाध्यायले ७ एल्बम एकसाथ सार्वजनिक गरेका छन् । एकसाथ सात गीति एल्बम सार्वजनिक गरेर विश्व कीर्तिमान राखेका गीतकार डा. डीआर उपाध्यायले एक वर्ष पछि फेरी सात एल्बम एकसाथ सार्वजनिक गरेका हुन् । सोमबार कमलपोखरी स्थित रुसी सांस्कृतिक केन्द्रमा एक विशेष कार्यक्रमबिच वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले डा. उपाध्यायका कीर्तिमानी सात गीति एल्बम सार्वजनिक गरे । ‘अनजान तिर्खा’, ‘सुधारस’, स्वर्ग घर, ‘नजरको तीर’, ‘सेभेन्थ कड्स’, ‘सौभाग्यको सिन्दूर’ र ‘अनुभूतिको मझेरीमा’ गीति एल्बमबाट उपाध्यायले आठ विश्व कीर्तिमान राखेको दाबी गरिएको छ ।
सोही कार्यक्रममा यसै गरी उपाध्यायको एक उपन्यास ‘सपनाकी रानी’ र आठ उपन्यासको सँगालो पनि सार्वजनिक गरिएको छ । १६ महिनामा १८ गीति एल्बम सार्वजनिकको रेकर्ड पनि उपाध्यायले राखेको दाबी गरिएको छ । कार्यक्रममा एभरेस्ट वर्ल्ड रेकर्डका फाउन्डर निर्देशक मधुरा श्रेष्ठले डा । उपाध्यायलाई आठ वटा वर्ल्ड रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरेका थिए । यसअघि डा । उपाध्यायले ६ कीर्तिमान राखेका थिए । सोमबार सार्वजनिक गीति एल्बम र उपन्यासपछि अहिले उनले कीर्तिमान राखेको जम्मा सङ्ख्या १४ पुगेको छ । गीत लेखेर एकपछि अर्को कीर्तिमान कायम गरेका डा. उपाध्यायले वर्ल्ड बुक्स अफ अमेरिका, अस्ट्रेलिया, लन्डनलगायत विभिन्न देशबाट प्राप्त वर्ल्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन् । एल्बम सार्वजनिक कार्यक्रममा वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी, अभिनेत्री वसुन्धरा भुसाल र वरिष्ठ गायिका ज्ञानु राणालाई पनि अभिनन्दन गरिएको थियो ।