रिलिज मितिलाई लिएर अन्योलमा रहेको चलचित्र ‘लभ डायरिज’को नयाँ रिलिज डेट तय भएको छ । भ्यालेन्टाइन डे को छेको पारेर चलचित्र फागुन २ बाट रिलिज गरिने भएको छ । चलचित्रको अन्तिम गीत आइतबार हायात होटेल परिसरमा छायाङ्कन सम्पन्न गर्दै प्रदर्शनको नयाँ मिति घोषणा गरेको गरिएको हो । आइतबार खिचिएको रोमान्टिक गीतमा टिकटक हुँदै म्युजिक भिडियो र विज्ञापनमा सफल हुँदै आएका प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडा देखिने भएका छन् । दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको आवाजमा रहेको 'छम छम' बोलको गीतमा सुशील श्रेष्ठको साथमा यी दुईले कम्मर मर्काएका छन् । सौरभ चौधरीले निर्देशन गरेको चलचित्रमा सुशील र रुबिनाको अलावा विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी लगायतका कलाकारहरूको अभिनय रहेको छ । सौरभ चौधरीको निर्देशन रहेको चलचित्रमा शाहील खान सह-निर्देशकको रूपमा रहेका छन् । विनोद सापकोटा निर्माताको रूपमा रहेको चलचित्रमा सरोज तुलाधर सह-निर्माताको रूपमा रहेका छन् ।