सत्यराज चौलागाईंको निर्देशनमा बन्ने चलचित्र 'अन्तरे'मा चलचित्र ‘बुलबुल’मा चोपेन्द्रको भूमिकाबाट चर्चामा आएका अभिनेता मुकुन भुषाल देखिने भएका छन् । मुकुनले अन्तरे अर्थात् चलचित्रका मुख्य पात्रको भूमिका निभाउँदै छन् । चलचित्रको पात्र निकै महत्त्वपूर्ण र बलियो भएको र आफ्नो समय पनि मिलेको कारण आफूले चलचित्रमा काम गर्ने निर्णय गरेको उनले बताएका छन् । 'बुलबुल'बाट पाएको दर्शकको मायालाई न्याय गर्ने भूमिका खोजिरहेको बेला आफूले यस चलचित्रलाई रोजेको उनको भनाइ छ । उनका अनुसार 'अन्तरे' विशुद्ध नेपाली फ्लेवरमा बन्ने चलचित्र रहेको र आफूले स्क्रिप्ट पढ्दा नै आफूले खोजेको भूमिका महसुस गरेका थिए ।
चरित्र प्रधान रहने चलचित्रको लागी सोही अनुसारको कलाकारको खोजी भइरहेको निर्देशक चौलागाईंले बताएका छन् । रेड आइज फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको 'अन्तरे'मा राज पण्डित र सुवास राईको लगानी रहनेछ । निर्माता राज पण्डितका अनुसार चलचित्र फागुनको पहिलो साता फ्लोरमा जानेछ ।