सूर्य रत्न सम्मान २०१९’ बाट वरिष्ठ हाँस्यकलाकार मह जोडी अर्थात् मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सम्मानित गरिने भएको छ । जापानको टोकियोमा नोभेम्बर २४ मा हुने ‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’ले कलाकार द्वयलाई सम्मान गर्न लागेको हो । यसै गरी दुई दशक लामो पत्रकारितामा सक्रिय रङ्ग पत्रकार साथै फिल्म निर्देशक समेत रहेका लक्ष्मण सुवेदीलाई ‘सूर्य पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ । साथमा चार दशक भन्दा लामो समय देखि यस क्षेत्रमा सक्रिय रहँदै आएका फिल्म कर्मी तथा टेलिभिजन कर्मी नीर शाहलाई ‘सूर्य लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिने भएको छ ।

योसँगै ‘सूर्य कलाकारिता सम्मान’ मार्फत लामो समय यता कलाकारितामा लागेका क्याप्टेन समेत रहेका विजय लामालाई सम्मान गरिने भएको छ । सूर्य कर्पोरेसनका अध्यक्ष लामिछानेले अवार्डसँगै दिइने विशेष सम्मान तथा पुरस्कारले आफ्नो क्षेत्रमा निरन्तरता दिन झनै प्रेरित गर्ने उद्देश्यले प्रदान गर्न लागिएको बताएका छन् । अभिनय , गायन , नृत्य र हास्य विधामा रहेर अवार्ड आयोजना गरिने र भव्यताका साथ कार्यक्रम सम्पन्न गरिने आयोजकको भनाइ छ ।