शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मिस्टर नेपाली’ को नयाँ गीत सार्वजनिक भएको छ । डेभिड शंकरको स्वर, देव भुसालको शब्द तथा दीपक शर्माको सङ्गीत रहेको ‘डङ्का पिट्यो’ बोलको गीत बिहीबार इन्टरनेटमा सार्वजनिक गरिएको हो । गीतको भिडियोमा फिल्मका नव-नायक साहिल श्रेष्ठ र नव-अभिनेत्री कुसुम राउत फिचर्ड छन् । गीतमा होलीको परिवेश समेटिएको छ भने थारु भेषभूषा र संस्कृतिलाई समावेश गरिएको छ ।  गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी, निरज कँडेलको छायाङ्कन र जीवन थापाको सम्पादन रहेको छ । देव भुसालको लेखन तथा निर्देशन रहेको चलचित्रमा भुवन केसीको प्रमुख भूमिका रहेको छ । चलचित्रमा उनले दोहोरो भूमिका निभाएका छन् । राष्ट्रियताको कथामा बोकेको चलचित्रमा रीमा विश्वकर्मा, विष्णु सापकोटा, रवि डङ्गोल, कमलमणी नेपाल, नन्दु श्रीवास्तवलगायत कलाकारको पनि अभिनय रहेको छ ।