गत असोज २४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘छ माया छपक्कै’ यस वर्षको वैशाखदेखि कात्तिक तेस्रो सातासम्म प्रदर्शनमा आएका फिल्ममध्ये सबैभन्दा ठुलो कमाई गर्न सफल भएको सार्वजनिक भएको छ । निर्माता दीपकराज गिरीले बिहीबार फेसबुकमा एक स्टाटस लेख्दै फिल्म यो वर्षको सबैभन्दा ठुलो ग्रसर साबित भएको जनाएका छन् । चलचित्रले प्रदर्शनको ३४ दिनसम्ममा आइपुग्दा २०७६ सालको वैशाख देखी कार्तिक अन्तिमसम्म प्रदर्शन भएका चलचित्रमा सबै भन्दा बढी कलेक्सन गर्न सफल भएको खबर बाहिरिएको छ । निर्माता दीपकराजले चलचित्रबाट आर्जन केही रकम सधैँ झैँ सामाजिक कार्यमा लगाइने बताएका छन् भने आगामी दिनमा अझ राम्रो चलचित्र निर्माण गर्ने कोसिस गर्ने उनले बताएका छन् ।
उनले खुसी हुँदै 'भारतबाट हिन्दी फिल्म किनेर ल्याएर नेपाली फिल्मलाई सोहरू कम दिन हलहरूलाई दबाब श्रृजना गर्ने वितरकका कारण हामीले पर्याप्त सोहरू नपाउँदा नपाउँदै पनि “छ माया छपक्कै “यो वर्षकै सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने चलचित्र भएकोमा यो खुसी आदरणीय दर्शकहरू सँग शेयर गर्न चाहन्छौ' भनेका छन् । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्टलगायतका कलाकारहरूको अभिनय रहेको छ । निर्माता रोहित अधिकारीसँग मिलेर दीपक र दीपाले निर्माण गरेको ‘छ माया छपक्कै’लाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् ।