फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारबाट हलमा भुवन केसी अभिनीत चलचित्र 'मिस्टर नेपाली' प्रदर्शनमा आएको छ । चलचित्रले सोलो रिलिजको अवसर पाएको छ । देव भुसाल निर्देशित चलचित्रको टेक्ससमा आयोजना गरिएको प्रिमियरमा दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो र चलचित्र राम्रो बनेको प्रतिक्रिया पनि मिलेको थियो । चलचित्रमा भुवनले दोहोरो भूमिका निभाएका छन् । जसमा उनी एक पाको उमेरका गाउँका राजनीतिक व्यक्तिको भूमिका निभाएका छन् भने अर्को वयस्क आफ्नो ठाउँलाई सम्मान र माया गर्ने नेपालीको भूमिका निभाएका छन् ।  विदेशमा बस्ने नेपालीको नेपालप्रतिको मोहलाई प्रस्तुत गरेको चलचित्रमा भुवन केसी र साहिल श्रेष्ठको प्रमुख भूमिका छ । साहिलले 'मिस्टर नेपाली'बाट रजतपटमा डेब्यु गरेका छन् । चलचित्रमा भुवन केसी, रीमा विश्वकर्मा, साहिल श्रेष्ठ, कुसुम राउत, रवि डङ्गोललगायतका कलाकारको अभिनय रहेको छ । प्रेमराज दाहालले 'मिस्टर नेपाली'लाई निर्माण गरेका हुन् ।