ऋषिराज आचार्यको निर्देशनमा बन्ने चलचित्र ‘चुरीफुरी’ को लागी कलाकार छनोट कार्य सुरु भएको छ । शुक्रवार गरिएको पहिलो चरणको कलाकार छनौट अडिसनबाट निर्माण प्रक्रिया अघि बढेको हो । अडिसनमा दुई सयभन्दा बढी नयाँ अनुहारले सहभागिता जनाएको निर्देशक आचार्यले बताएका छन् । अडिसनमार्फत ‘चुरीफुरी’ का लागि प्रमुख अभिनेता, अभिनेत्री र केही सह-कलाकार छनोट गरिने उनको भनाई छ । पहिलो चरणको अडिसनमा केही कलाकार छनोट गरिएको छ । आचार्यले गत वर्ष चलचित्र ‘ड्रिम गर्ल’ बनाएका थिए भने चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा उनले एकसाथ दुई चलचित्र ‘चुरीफुरी’ र ‘द्रौपदी’ को निर्माण घोषणा गरेका थिए । तर निर्माण घोषणाको लामो समयसम्म पनि निर्माण कार्य अघि नबढ्दा चलचित्र नै बन्ने नबन्ने अन्योल रहेको थियो । निर्माण घोषणाको एक वर्ष पछि चलचित्रको लागी कलाकार छनौट प्रक्रिया सुरु भएको छ ।
केही दिनमा हुने दोस्रो चरणको अडिसनपछि फिल्मका लागि सम्पूर्ण कलाकार छनोट हुने छन् । पहिलो चरणको अडिसनमा निर्देशक ऋषिराज र संचारकर्मी तथा फिल्म निर्देशक लक्ष्मण सुवेदी निर्णायकको रूपमा थिए । मङ्सिर तेस्रो साताबाट फिल्मको छायाङ्कन सुरु हुने बताइएकोछ । चलचित्र बारे जानकारी दिँदै निर्देशक आचार्यले चलचित्रको कथावस्तुमा निकै मेहनत गरेका र त्यसलाई पर्दामा उतार्न कुनै कसर नछाड्ने बताएका छन् । यस अघि उनले चलचित्र ‘ड्रिम गर्ल’ सँगै ‘मिस्टेक’, ‘सपना तिम्रो मेरो’, ‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले’ को निर्देशकको जिम्मेवारी सम्हालिसकेका छन् ।