नेपाली सुगम सङ्गीतकी चर्चित गायिका मिलन नेवारको स्वरमा ‘सिन्दूर’ बोलको गीत सार्वजनिक भएको छ । सञ्चार कर्मी मधु शाहीको शब्द रहेको गीतमा चित्रकार, गायक एवम् सङ्गीतकार ज्योति प्रकाशले सङ्गीत भरेका छन् । ऐरेन्ज विष्णु अधिकारीको रहेको छ । नवीन बाबु गुरुङको छायाङ्कन रहेको गीतको भिडियोमा विकास धमलाको सम्पादन रहेको छ । ‘सिन्दूर’लाई सञ्चार कर्मी सुमन पण्डितले निर्देशन गरेका हुन् । गीतको भिडियोमा मिलन स्वयम् फिचर्ड छिन् ।
पछिल्लो समय लाइभ ब्यान्ड सहितको थिएटर भिडियो निर्माणको क्रम न्यून भए पनि यो गीतमा चित्रकलासँगै जोडेर थिएटरमा कलाकारहरूको लाइभ बाद्ययवादनसहितको म्युजिक भिडियोको निर्माण भएको छ । म्युजिक भिडियोमा मिलनसँगै वाद्यवादनतर्फ विष्णु अधिकारी, आकाश गोर्खाली, सन्तोषभक्त, भुवन गन्धर्व, गोपाल देव, विश्व अधिकारी र मनिष मोक्तानलाई देख्न सकिन्छ ।