अभिनेता विपिन कार्की अभिनीत चलचित्र ‘सेल्फी किङ’ को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । फर्स्ट लुक पोस्टर सँगै चलचित्रको रिलिज मिति पनि सार्वजनिक गरिएको छ । विशाल सापकोटाको डेब्यू निर्देशनमा तयार भएको यस चलचित्र आगामी माघ २४ मा अल नेपाल प्रदर्शनमा आउने भएको छ । चलचित्रको फर्स्ट लुक पोस्टरमा मुख्य अभिनेता विपिनलाई फरक अवतारमा प्रस्तुत गरिएको छ । आँखामा गाजल र ओठमा रातो रङ्गको लिपिस्टिक लगाएका उनको कपाल निकै लामो देख्न सकिन्छ भने उनी निकै गम्भीर मुद्रामा देखिन्छन् । ‘सेल्फी किङ’को नामले परिचित एक चर्चित हास्य कलाकार(टेलिभिजन)ले कला यात्राको दौरान आफूले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने सङ्घर्षको कथा बोकेको चलचित्रमा विपिन कार्कीले गोपाल दाहाल अर्थात् हाँस्य कलाकारको भूमिका निर्वाह गरेका छन् ।
चलचित्रमा विपिनका अलावा चलचित्रमा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बास्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारी विशेष भूमिकामा देखिने छिन । चलचित्र ‘प्रसाद’ का निर्माता सुभाष थापा र सोही चलचित्रका निर्देशक दिनेश राउतले संयुक्त रूपमा निर्माण गरेको चलचित्रमा निर्देशक विशालकै लेखन, सुसन प्रजापतिको छायाङ्कन, जीवन थापाको सम्पादन, सुवास भुसालको सङ्गीत, बि । पाण्डेको शब्द, अन्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको सङ्गीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, विनोद पोखरेलको स्टिल फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहने छ ।