नेपाली चलचित्र तोकिएको मितिमा रिलिज गर्न नसक्नु सामान्य जस्तै भैसकेको छ । पछिल्लो समय कम्तीमा एक पटक प्रदर्शन मिति परिवर्तन गर्नु सामान्य हुन थालेको छ । कहिले प्राविधिक काम नसकिएको नाममा त कहिले बलिउड चलचित्रको चेपुवामा पर्ने डरमा रिलिज मिती सार्नु बाध्यता बनेको छ। नेपाली फिल्म मेकर्सको लागी चलचित्र निर्माण गर्नु भन्दा प्रदर्शनमा ल्याउनु फलामको च्युरा चपाउनु सरह हुन थालेको छ । यसैबिच सौगात मल्ल स्टारर चलचित्र ‘लप्पन छप्पन २’ पनि तोकिएको मितिमा प्रदर्शनमा नआउने भएको छ । महाशिवरात्रीको अवसर पारेर फागुन ९ गतेबाट प्रदर्शनमा ल्याउने तयारी भइरहेको यस चलचित्र दुई महिना पछाडि धकेलिएको छ । योसँगै अर्को वर्षको वैशाख ५ गते प्रदर्शनमा ल्याउने तयारी थालिएको छ । चलचित्रका निर्देशक मुकुन्द भट्टले भिएफएक्सको काम नसकिएकाले पछि हट्नु परेको बताएका छन् ।
नेपालसहित अस्ट्रेलिया र युरोपमा खिचिएको भनिएको चलचित्रमा अघिल्लो पार्टमा पनि प्रमुख भूमिकामा रहेका सौगात र अर्पण नेगेटिभ रोलमा छन् । चलचित्रको पहिलो पार्टले उति राम्रो व्यापार गर्न सफल भएको थिएन यद्यपि चलचित्रको सिक्वेलबाट दर्शकको मन जित्ने विश्वास निर्माण पक्षको रहेको छ । चलचित्रमा सौगात, शक्ति र अर्पणसँगै अनुपविक्रम शाही, नम्रता श्रेष्ठ, केरोलिन कोलिन्डा, सुरविना कार्की, सृजना सिना, देव कुमार, शिव श्रेष्ठलगायतका कलाकारहरूको अभिनय रहने छ भने चिजकुमार श्रेष्ठ र प्रजापति सिवाकोटीले निर्माण गरेका हुन् ।