सुनिल गुरुङको निर्देशनमा निर्माण भएको चलचित्र 'माछा माछा'को आइटम गीत सोमबार सार्वजनिक भयो । राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको गीत सार्वजनिक गरियो । अनुपम शर्माको सङ्गीत र स्वरमा रहेको 'म्याडम म्याडम' बोलको गीतमा अभिनेत्री सृष्टि श्रेष्ठ आइटम गर्लको रूपमा फिचर्ड छिन् । गीत रिलिज कार्यक्रममा गीत कि आइटम गर्ल अर्थात् सृष्टि उपस्थित थिइनन् । उनी कार्यक्रममा उपस्थित नहुनुको कारण सोध्दा सौगात मल्लले उनी आफ्नै कामले राजधानी बाहिर भएको जानकारी दिए । पछिल्लो समय अभिनेता सौगातलाई आफूले काम गरेको चलचित्रमा को एक्ट्रेसको लागी आफ्नी प्रेमिका सृष्टिलाई नै रिफर गर्ने र उनलाई नलिए चलचित्र नै छोडिदिने आरोप लाग्दै आएको छ । यस चलचित्रमा पनि आइटम आइटम डान्समै भए पनि सृष्टिलाई भित्र्याउनु सौगातकै रिफरको नतिजा हो कि भन्ने प्रश्नमा चलचित्रका मेकर्स मणिराम पोख्रेलले आफ्नो चिनजानमा सृष्टि रहेको र उनलाई एप्रोच गरेको सौगातलाई थाहा समेत नभएको प्रस्ट पारे । यसैमा सौगातले आफूले सृष्टिलाई सिफारिस नगरेको तर उनीसँग काम गर्दा बयान नै गर्न नसकिने खुसी लाग्ने बताए ।
प्रवीण सिंहको कोरियोग्राफीमा सृष्टिसँगै अभिनेता सौगात मल्लले कम्मर मर्काएका छन् । गीतमा विजय बराल र अनोज पाण्डे पनि फिचर्ड छन् । चर्चित र सफल चलचित्र 'कबड्डी'को मेकर्सले निर्माण गरेको चलचित्रले तीन जना गाउँले युवकहरूले सहरिया जीवन स्थापित गर्न लागिपरेको सङ्घर्षको कथा चलचित्रले प्रस्तुत गरेको छ । चलचित्रमा सौगात मल्ल, नम्रता श्रेष्ठ, विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, प्रवीण खतिवडा, सरिता गिरि, भोलाराज सापकोटा, पुष्कर गुरुङ, कमल मनी नेपाल, ध्रुव कोइराला, वसन्त भट्टलगायत कलाकारको अभिनय रहेको छ । राम बाबु गुरुङ र दयाहाङ राईको लगानीमा निर्माण भएको चलचित्र सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्रमा अनुपम शर्माको सङ्गीत, निमेष श्रेष्ठको सम्पादन र प्रवीण सिंहको कोरियोग्राफी छ । यसै गरी चलचित्रलाई शिवराम श्रेष्ठले खिचेका हुन् ।