भुवन केसी अभिनीत चलचित्र ‘मिस्टर नेपाली’ गत शुक्रवारबाट अल नेपाल रिलिज भयो । करिब सात वर्ष पछि आफूले ज्यान दिएको विधा अर्थात् अभिनयमा फर्काएको चलचित्रले कस्तो व्यापार गर्‍यो भन्ने चासो नेपाली फिल्म इन्डस्ट्रीलाई फलो गर्ने सबैमा हुनु स्वाभाविक नै भयो । एक समयका हिट मेसिन भुवनलाई फर्काएको यस चलचित्रले पुनः उनको क्रेज स्थापित गर्नेमा सबै आशावादी थिए । तर सधैँ दर्शकको स्वाद अनि दर्शकले अपेक्षा गरे अनुसारको प्रतिफल कलाकारले कहाँ दिन सक्छन् र ? यस्तै भयो भुवनको हकमा पनि । भुवनले दोहोरो भूमिका निभाएको र पहिलो पटक नेगेटिभ भूमिका निभाएको चलचित्र दर्शकलाई मन परेन । न उनको प्रस्तुतिले दर्शकलाई बाँध्न सक्यो न कथाले नै । रोमान्टिक हिरोको भूमिकामा दर्शकले मनमा राखेका भुवनको भिलेन स्वरूप दर्शकको अपेक्षा अनुरूप हुन सकेन ।

योसँगै चलचित्र ‘मिस्टर नेपाली’ यस वर्षको फ्लप चलचित्रको लिस्टमा अग्र स्थानमा पर्न गयो । चलचित्रले एकल रिलिजको अवसर समेत पाएको थियो जुन निकै राम्रो अवसर मानिन्छ । तर चलचित्रले न भुवनको स्टारडमको फाइदा लिन सक्यो न एकल रिलिजको नै । यसबाट यो प्रस्ट हुन्छ कि कमजोरी समग्रमा चलचित्र नै छ । देव भुसाल निर्देशन गरेको चलचित्रको टेक्ससमा आयोजना गरिएको प्रिमियरमा दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो र चलचित्र राम्रो बनेको प्रतिक्रिया पनि मिलेको भनिएको थियो ।  विदेशमा बस्ने नेपालीको नेपालप्रतिको मोहलाई प्रस्तुत गरेको चलचित्रमा भुवन र साहिल श्रेष्ठको प्रमुख भूमिका छ । साहिलले 'मिस्टर नेपाली'बाट रजतपटमा डेब्यु गरेका छन् । चलचित्र हेरेका दर्शकले साहिलको कामको भने केही हदसम्म तारिफ गरेका छन् । उनलाई सम्भावना भएका कलाकारको रूपमा हेरिन थालेको छ । पछिल्लो समय एक पछि अर्का युवा अभिनेता हरू पनि इन्डस्ट्रीमा आफूलाई प्रमाणित गर्न नसकिरहेका बेला एक समयका हिरो, एक पछि अर्को चलचित्रबाट ब्लकबस्टर साबित हुने इतिहास बोकेका अभिनेता भुवन पनि असफल देखिएका छन् ।