मङ्सिर ६ अर्थात् भोलि शुक्रवारबाट अल नेपाल रिलिज हुँदै छ आर्यन सिग्देल स्टारर चलचित्र 'च च हुई' । नेपाली चलचित्रलाई दर्शकको खडेरी लगेको बेला धेरै आशा र भरोसा बोकेर साम्तेन भुटिया निर्देशित यस चलचित्र प्रदर्शनमा आउन लागेको छ । हङकङबाट नेपाल फर्किएका दुई युवकको जीवनमा एउटा किताबले ल्याउने उतारचढावमा आधारित चलचित्रमा अभिनेत्री मिरुना मगरको पछि अन स्क्रिन लभर ब्वाईको रूपमा दर्शकको मन जितेका आर्यन र अभिनय मा पारङ्गत भोलाराज सापकोटा लागेका छन् । रोमान्टिक कमेडी जनरामा बनेको चलचित्रको लागी बुधवार दिउँसोबाट मल्टीप्लेक्सहरुले एडभान्स बुकिङ खुलाएका छन् । ‘च च हुई’ले मल्टीप्लेक्समा सोचे अनुरूप सोज हात पार्न भने सकेको छैन । चलचित्रलाई नेपालको सबैभन्दा ठुलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले देशभरका ८ स्टेसनमा १३ सोज दिएको छ ।

यस्तै, बिग मुभिज, विएसआर मुभिज र एफक्यूबमा चलचित्रले समानान्तर २२ सोज पाउँदा क्यूज सिनेमाज् र वान सिनेमाज्ले समानान्तर ११ सोज बाँडेका छन् । भने, सिडिसी सिनेमाज्मा यसलाई ३ सोज दिइएको छ । यस चलचित्र पनि बलिउड चलचित्र 'पागलपान्ती'को चेपुवामा पर्नु परेको छ । जसको कारण अपेक्षा अनुरूप ओपनिङ गर्न नसक्ने भएको छ । चलचित्रले राम्रो वर्ड अफ माउथ पाएको खण्डमा भने दोस्रो दिनबाट दर्शकको राम्रो साथ मिल्ने देखिन्छ । चलचित्रले सिंगल पर्दामा भने पर्याप्त सोज पाएको निर्माण टिमले बताएको छ । चलचित्रमा माओत्से गुरुङ, पुष्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ललगायतको पनि अभिनय रहेको छ । सुशन प्रजापतिको छायाङ्कन रहेको चलचित्रमा सिजन दाहाल र सन्देश अर्यालको पटकथा छ । यसका गीतमा राजनराज सिवाकोटी र रोशन थापाको सङ्गीत छ । ‘च च हुई’ मा श्री श्रेष्ठको द्वन्द्व र शिशिर खातीको कोरियोग्राफी रहेको छ ।