आज शुक्रवारबाट आर्यन सिग्देल स्टारर चलचित्र 'च च हुई' प्रदर्शनमा आएको छ । नेपाली चलचित्रलाई दर्शकको खडेरी लगेको बेला धेरै आशा र भरोसा बोकेर आएको साम्तेन भुटिया निर्देशित यस चलचित्रले सोलो रिलिजको अवसर पाएको छ । यसले पनि चलचित्रले राम्रो ओपनिङ गर्नु पर्ने देखिन्छ तर बलिउड चलचित्रको दवदवा रहेका बेला मल्टीप्लेक्समा राम्रो सोज भने हात पार्न सकेको छैन । हङकङबाट नेपाल फर्किएका दुई युवकको जीवनमा एउटा किताबले ल्याउने उतारचढावमा आधारित चलचित्रमा अभिनेत्री मिरुना मगरको पछि अन स्क्रिन लभर ब्वाईको रूपमा दर्शकको मन जितेका आर्यन र अभिनय मा पारङ्गत भोलाराज सापकोटा लागेका छन् । रोमान्टिक कमेडी जनरामा बनेको चलचित्रमा माओत्से गुरुङ, पुष्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ललगायतको पनि अभिनय रहेको छ । सुशन प्रजापतिको छायाङ्कन रहेको चलचित्रमा सिजन दाहाल र सन्देश अर्यालको पटकथा छ । यसका गीतमा राजनराज सिवाकोटी र रोशन थापाको सङ्गीत छ । ‘च च हुई’ मा श्री श्रेष्ठको द्वन्द्व र शिशिर खातीको कोरियोग्राफी रहेको छ ।