चलचित्र ‘झिंगेदाउ’को छायाङ्कन सुरु भएको छ । आँचल शर्मा र मुकुन भुसालको मुख्य भूमिका रहेको चलचित्र खोटाङको हलेशीबाट छायाङ्कन सुरु गरिएको हो । लामो समयदेखि निर्माणमा अन्यौल देखिएको चलचित्रको पहिलो सेड्यूलको छायाङ्कन खोटाङमा हुने प्रस्तुत कर्ता एवं निर्देशक ज्ञानेन्द्र देउजाले जानकारी दिएका छन् । दोस्रो सेड्यूलको छायाङ्कन भने भकुेन्डेवेसीमा बनाइएको विभिन्न सेटमा हुने निर्माणपक्षले बताएको छ । चलचित्र साहित्यकार भीमनिधि तिवारीको आख्यानमाथि फिल्म निर्माण हुन लागेको हो । यसमा मुकुन भुसाल र आँचल शर्माको साथमा केकी अधिकारी, कुशल विष्ट लगायतका कलाकारको मुख्य भूमिका रहने छ । ‘झिंगेदाउ’मा निर्देशक देउजाकै लगानी रहेको छ भने विष्णु कल्पितको छायाङ्कन, अर्जुन पोखरेलको सङ्गीत र पटकथा एवं संवाद प्रदीप भारद्वाजको रहने छ ।