एक समय नेपाली फिल्म इन्डस्ट्रीमा एकछत्र राज गरेका अभिनेता बिराज भट्टले पहिलो पटक निर्देशन गरेको चलचित्र ‘साङ्लो’ माघ २४ गतेबाट देशैभर प्रदर्शन हुने तय भएको छ । एक्सन किङ बिराज भट्टकै अभिनय रहेको चलचित्र यस अघि फागुन ९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको थियो । ‘साङ्लो’ले रोजेको नयाँ मितिमा अभिनेता विपिन कार्की स्टारर चलचित्र ‘सेल्फी किङ’ पनि प्रदर्शन हुने छ । फागुन ९ मा ‘धुर्मुस सुन्तली’ को रहेको चलचित्र ‘सेन्टी भाइरस’ आउने भएपछि विराजले ‘साङ्लो’ लाई दुई हप्ता अगाडि सारेका हुन् । नयाँ प्रदर्शन मितिसहित शनिवार निर्माण टिमले ‘साङ्लो’ को नयाँ पोस्टर सार्वजनिक गरेको छ । जसमा विराज र नव-अभिनेत्री निकिता चण्डक फिचर्ड छन् । विराज र निकिताको जोडी बाँधिएको चलचित्रले किड्नी तस्करीको कथा वाचन गर्ने बताइएको छ । चलचित्रको पहिलो गीत यसै बिहीबार सार्वजनिक गरिदैछ । विराजको आफ्नै लगानीमा निर्मित चलचित्रमा प्रकाश शाह, कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पी.  पन्तलगायतका कलाकारको पनि अभिनय रहेको छ । यसै गरी चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, मानकृष्ण महर्जनको छायाङ्कन, सुरेश अधिकारी र राजनराज सिवाकोटीको सङ्गीत र शिवम अधिकारीको कथा छ ।