बलिउड अभिनेत्री कङ्गना रनावत हाल तमिलनाडु राज्यकी मुख्यमन्त्री स्व. जयललिथाको जीवनीमा आधारित वायोपिक चलचित्र 'थलाइवी'को सुटिङमा व्यस्त रहेकी छिन् । सुटिङकाबिच नै चलचित्रको टिजर सार्वजनिक भइसकेको छ । जसलाई लिएर कङ्गना एकदमै उत्साहित छिन्। यसैबिच चलचित्रमा दक्षिण भारतीय स्टार एनटिआर जुनियरले काम गर्न अस्वीकार गरेको खबर सार्वजनिक भएको छ । चलचित्रमा उनलाई एनटिआरका हजुरबुबा एनटी रामा रावको भूमिकाका लागि प्रस्ताव गरिएको थियो । तर उनले सो भूमिका गर्न स्पष्ट रूपमा अस्वीकार गरेको भारतीय सञ्चारमाध्यमले आफ्नो समाचारमा उल्लेख गरेका छन् । उनका अनुसार आफ्ना हजुरबुबाको भूमिका गर्न कहिल्यै नसक्ने हुनाले उनले चलचित्रको अफर अस्वीकार गरेका हुन् । अनुभवी कलाकारको भूमिका निभाउनु एकदमै कठिन हुने भएकाले आफूमा त्यो भूमिकालाई न्याय गर्ने आँट नभएको बताएका छन् । जयललिथा राजनीतिमा आउनुअघि एकदमै चर्चित अभिनेत्री थिइन् । उनले एनटी रामा रावसँग कयौँ सिनेमामा एकसाथ काम गरेकी थिइन। त्यसैले यस बायोपिक सिनेमामा उनको महत्त्वपूर्ण भूमिका हुने अपेक्षा गरिदैं आइएको थियो । जुन २६, २०२०म्मा रिलिज हुने यस चलचित्र हिन्दी, तमिल तथा तेलेगु भाषामा रिलिज गरिनेछ ।