निकेश खड्काको निर्देशनमा बन्ने चलचित्र ‘चपली हाइट ३’ को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माता अर्जुन कुमारले चलचित्रका आगामी चैत २८ गते प्रदर्शन हुने जानकारी दिएका छन् । अघिल्ला दुई सिरिज सफल भएको निर्माणाधीन तेस्रो भागमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतीक श्रेष्ठलगायतका कलाकारहरूको अभिनय रहने छ । योसँगै रिलिज मिति तल माथि नपरे ‘चपली हाइट ३’ बक्स अफिसमा ‘प्रेमगीत ३’ सँग भिडन्त गर्नेछ । प्रेम गीत ३ ले ६ महिना अगाडि नै चैत २८ गतेलाई प्रदर्शन मिति घोषणा गरिसकेको थियो ।
निर्माता अर्जुन कुमारले एक भिडियो सार्वजनिक गर्दै, समयमा नै चलचित्र निर्माणको काम सम्पन्न गर्न नसक्ने यसअघि रिलिज डेट घोषणा नगरेको तर अब चलचित्र चैत २८ मा आउनेछ भनेका छन् । अघिल्ला दुई सिरिजभन्दा ‘चपली हाइट ३’ फरक कथामा बन्ने र चलचित्रमा सस्पेन्स र थ्रीलरलाई प्राथमिकतामा राखेको निर्माता अर्जुन कुमार बताउँछन् । ‘चपली हाइट ३’ लाई अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले मिलेर निर्माण गर्न लागेको हो । निर्देशक निकेश र निर्माता अर्जुनबिच यसअघि ‘फाटेको जुत्ता’ मा सहकार्य भएको थियो ।