‘सूर्य इन्टरनेशनल अवार्ड’को दोस्रो संस्करण जापानको टोकियोमा सम्पन्न भएको छ । दोस्रो संस्करणको अवार्डका लागि नेपालबाट दर्जनौँ कलाकार र पत्रकार जापान पुगेका थिए । ५० बढी सिनेकर्मी र पत्रकारको उपस्थितिमा आयोजित समारोहमा कलाकारको उत्साहजनक उपस्थिति रहेको थियो भने दर्शकको भने खडेरी नै लागेको थियो । यसैबिच अवार्डमा उत्कृष्ट कलाकार, चलचित्र लगायतलाई सम्मान प्रदान गरियो । समारोहमा अनमोल केसीले पपुलर अभिनेताको अवार्ड थापे भने पपुलर अभिनेत्रीको अवार्ड ‘कायरा’बाट साम्राज्ञी राज्यलक्ष्मीले हात पारिन् । अनमोलले ‘क्याप्टेन’बाट पपुलर अभिनेताको अवार्ड हात पारेका हुन् । यसै गरी पपुलर चलचित्रको अवार्ड ‘छक्का पन्जा ३’ ले पायो, पपुलर निर्देशकको अवार्ड दीपाश्री निरौला, पपुलर सह-अभिनेत्रीमा वर्षा राउतले ‘गोपी’बाट र  सह-अभिनेता तर्फ ‘जय भोले’बाट बुद्धि तामाङ उत्कृष्ट ठहरिए । समारोहमा क्रिटिक्स तर्फको तीन अवार्ड ‘प्रसाद’को पोल्टामा परे । अभिनेतामा विपिन कार्की र अभिनेत्रीमा नम्रता श्रेष्ठ क्रिटिक्सको नजरमा उत्कृष्ट ठहरिए । भने, निर्देशकको अवार्ड ‘गोपी’बाट दीपेन्द्र लामाले जिते ।

सङ्गीतको ६ विधामा लोक गायिकाको अवार्ड ‘गाह्रो हुन्छ’ गीतबाट मञ्जु पौडेलले जितिन् भने गायकमा ‘सालको पात’बाट कुलेन्द्र विश्वकर्माले अवार्ड उचाले । यस्तै ‘मोहनी’ गीत मार्फत आधुनिक गायक राजेश पायल राई र  ‘पिरिम नलाउने’बाट गायिका मेलिना राईले अवार्ड जिते । पप तर्फ ‘कर्के नजर’बाट सञ्जीव पराजुली र टिका प्रसाईँले उत्कृष्ट गायक-गायिकाको अवार्ड हात पारे । यस पटकको ‘सूर्य रत्न सम्मान’ मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई तथा लाइफ टाइम एचिभमेन्ट अवार्ड अभिनेता निर शाहलाई प्रदान गरियो । नाकानो जिरो हलमा आयोजना गरिएको समारोहमा कलाकार विजय लामालाई ‘सूर्य कलाकारिता सम्मान २०१९’, कला पत्रकार लक्ष्मण सुवेदीलाई ‘चलचित्र पत्रकारिता पुरस्कार’ र जापनिज निर्देशक डा: तोशीआकी ईतोहलाई विशेष सम्मान प्रदान गरियो । अवार्ड समारोहका तस्बिर सार्वजनिक भएसँगै आयोजकले दर्शकलाई सहभागी गराउन नसकेको भन्दै सामाजिक सञ्जाल र फिल्म वृत्तमा आलोचना भइरहेको छ । अवार्ड समारोहमा सहभागी हुन मह जोडी, नीर शाह, भुवन केसी, अनमोल केसी, साम्राज्ञी राज्यलक्ष्मी शाह, वर्षा राउत, दीपाश्री निरौला, श्वेता खड्का, सरिता लामिछाने, ऋषि लामिछाने तथा चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई लगायत जापान पुगेका थिए ।  

तस्बिर: मेरो फिल्म