राजेश पायल राईले साङ्गीतिक जीवनको यती लामो यात्रा पार गरिरहँदा कति सम्मान र अवार्ड हात पारे त्यो उनले पनि गन्ती गरेका छैनन् होला । विडम्बना उनले दर्शकको माया र सम्मान स्वरूप पाएका समुर्ण अवार्ड केही महिना अघि घरमा आगलागी हुँदा जलेर नष्ट भए । त्यसपछि उनले पाएको अवार्ड हो 'सूर्य इन्टरनेशनल अवार्ड २०१९'मा पपुलर मेल गायकको उपाधि । यो अवार्ड पाउनु उनको लागी खुसीको कुरा त हो नै । योसँगै राजेश पायलले एउटा निकै ठुलो निर्णय लिएका छन् । यसै अवार्डको दौरानमा जापान पुगेका उनले अब कुनै पनि अवार्ड नलिने घोषणा गरेका छन् । लाइफ टाइम अचिभमेन्ट, राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्ड बाहेक अन्य कुनै पनि व्यक्तिगत र संस्थागत रूपमा दिइने अवार्ड नलिने घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जालमा एक लामो स्ट्याटस पोस्ट गर्दै ,'यस्ता अवार्ड्हरु नयाँ पुस्ताका कलाकारहरूका लागि त प्राण वायु सरह नै हुन्छन् र यसको विशेष महत्त्व उनीहरूमै हुन्छ । मलाई लाग्छ हामी कलाकारहरूका लागि दर्शक श्रोताहरूको माया,सद्भावले विशेष महत्त्व राख्छ । नयाँ कलाकारहरूलाई प्रेरित गर्न पनि हामीले उनीहरूका लागि बाटो छाेडिदिनुपर्छ भने अवार्ड हरुकाे गरिमा तथा महत्त्व पनि कायम रहनु पर्छ ।यसै सन्दर्भमा म अब देखि राज्य स्तरबाट वा अन्तर्राष्ट्रिय मान्यताप्राप्त अवार्ड बाहेक निजी वा व्यक्तिगत रूपमा प्रदान गरिने अवार्डहरू ग्रहण नगर्ने निर्णयमा पुगेेकाे छु ।' लेखेका छन् ।