पछिल्लो केही महिना यता नेपाली बक्स अफिसमा चलचित्रले राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन् । असोज अन्तिम हप्ता प्रदर्शनमा आएको 'छ माया छपक्कै' ले तताएको नेपाली चलचित्र बजार त्यस यता सुनसान छ । आस गरिएका केही चलचित्रले पनि दर्शक तान्न नसक्दा नेपाली चलचित्रको व्यापार ठप्प भएको छ । हरेक हप्ता नयाँ चलचित्र रिलिज हुन छोडेका छैनन् भने नयाँ चलचित्र निर्माण हुने क्रम पनि जारी छ । यसै बिच आज शुक्रवारबाट हलमा दुई नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । हरि हुँमागाईको निर्देशनमा बनेको चलचित्र 'सरौतो' र भास्कर प्रधानको लेखन तथा निर्देशनमा बनेको 'लभ यु हमेशा' प्रदर्शनमा आएका हुन् । एक्सन लभ स्टोरी जनरामा निर्माण भएको चलचित्र विर्जना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्रकी कार्यकारी निर्माता सिर्जना जोशी हुन् । राघव कृष्ण गौतमले 'सरौतो'को कथा, पटकथा तथा संवाद लेखेका हुन् ।

यसै गरी चलचित्रमा सन्नी सिंह र सुमी मोक्तानका अलावा आमिर गौतम, विजय लामा, युवराज लामा, धिरेन शाक्य, अरुणा कार्की, निशा पुन मगर, सम्पदा दाहाल, पराक्रम शमशेर जबरा, मनोज तामाङ, प्रतीक दुलाल लगायतका कलाकारको अभिनय रहेको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित 'लभ यु हमेशा'मा यशराज, ऋचा थापा र फिजा योञ्जन, गोपाल ढकाल, करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङ लगायत कलाकारको अभिनय रहेको छ । भास्कर प्रधानको लेखन तथा निर्देशन रहेको चलचित्रमा यवन गुरुङको लगानी रहेको छ । शिव ढकालले छायाङ्कन गरेको चलचित्रलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।