पूजा शर्मा र आकाश श्रेष्ठको जोडी अभिनीत चलचित्र ‘सम्झना बिर्सना’को यति बेला सिलिगुडीमा छायाङ्कन भइरहेको छ । निमेष प्रधानले निर्देशन गरिरहेको चलचित्रको छायाङ्कन भइरहँदा अभिनेत्री छुल्ठिम गुरुङको प्रवेश भएको छ । प्रेम कथामा आधारित चलचित्र छुल्ठिम पनि मुख्य भूमिकामा देखिने निर्माण पक्षले जनाएको छ । आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरिरहेको चलचित्रमा पूजा, आकाश र छुल्ठिमसँगै सुनिल थापा, शिशिर राणा, मेनुका प्रधान, मदन भुजेललगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ । आदित्य फिल्मसको ब्यानरमा निर्माण भइरहेको चलचित्रलाई शिव ढकालले खिचिरहेका छन् । वेस्ट बेंगलका रमणीय स्थानमा ‘सम्झना बिर्सना’को छायाङ्कन गरिने निर्माण पक्षले बताएको छ । ‘रामकहानी’बाट सहकार्य सुरु गरेको यो पूजा- आकाशको जोडी स्टारर चलचित्र ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ ।