ब्रिटिस काउन्सिल र चलचित्र विकास बोर्डसँग तीन वर्षका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको छ । काउन्सिलले युवा तथा सिर्जनशील संलग्नता कार्यक्रम अन्तर्गत तीन वर्षसम्म विभिन्न परियोजनाहरूमा कार्य गर्ने र चलचित्र विकास बोडलाई विशेषज्ञ तथा प्राविधिक परामर्शको माध्यमबाट सहकार्य गरी सकारात्मक प्रतिफल हासिल गर्ने अपेक्षा सहित सम्झौता भएको हो ।  शुक्रवार चलचित्र विकास बोर्डको सभा हलमा भएको एक कार्यक्रमका बिच बोर्ड अध्यक्ष केशव भट्टराई र ब्रिटिस काउन्सिलका नेपाल निर्देशक ब्रेण्डन म्याकसेरीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा यस समझदारीले वर्तमान र भावी क्षेत्रगत विकासका कार्यहरूलाई सँग-सँगै अगाडि बढाउने बोर्ड अध्यक्ष भट्टराईले बताए । चलचित्र विकास बोर्ड र ब्रिटिस काउन्सिलबिच तालिम विषयवस्तुको डिजाइन तथा विकास, परियोजनाहरूको डिजाइन तथा प्रवाह, पारस्परिक लाभ जन्य प्रतिफलहरूको अनुभूति गर्न बेलायत तथा नेपाली विज्ञबिच सहजीकरण तथा समन्वय, पाठ्यक्रम तथा शैक्षिक कार्यक्रममा सहयोग र दर्शक बढाउने सामाग्रीको विकासमा सहकार्य हुने जारी विज्ञप्तिमा उल्लेख छ ।

समझदारी पत्र हस्ताक्षर कार्यक्रमका प्रमुख अतिथि सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले यो नेपाली चलचित्र क्षेत्रका लागि नयाँ ढोका खुलेको भन्दै प्रशंसा गरे । त्यस्तै, उक्त कार्यक्रममा फिल्म छायाङ्कनका लागि लक्षित गर्दै लोकेसन गाइड पुस्तक ‘फिल्मिङ इन नेपाल’ पनि विमोचन गरिएको छ । पुस्तकमा चलचित्र छायाङ्कनका लागि उपयुक्त हुने ६१ वटा लोकेसन समेटिएको छ । तीन सय बढी फोटो समावेश गरिएको पुस्तकमा नेपालमा छायाङ्कन भएका विदेशी चलचित्र र लोकेसन पनि समेटिएको छ ।