काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) शुरु हुने भएको छ ।  यही मंसिर २५ गतेदेखि सभा गृह र नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुन लागेको किम्फको यो १७ औं संस्करण ५ दिनसम्म चल्नेछ । २९ देशका ६६ वटा चलचित्रहरू महोत्सवमा प्रदर्शन गरिनेछ जसमध्ये नेपाली पानारोमा अन्तर्गत १४ वटा फिल्महरु प्रदर्शन हुँदैछन् । यो वर्षा नेपाली पानारोमा अन्तर्गत सरला थापाको ‘ब्रिटेन्स् लोन्ली गोर्खाज्, गणेश पाण्डेको ‘सह श्रीमान’, निपिल शर्माको ‘अटिसार्गा’, धोंडप छिरिङको ‘आमा खुन्डो’, सुमन सापकोटाको ‘अठारौं’, धनराज बर्कोटेको ‘एउटा रुखको पीडा’, केदार श्रेष्ठको ‘जुनुको जुत्ता’, प्रसिस बज्राचार्यको ‘कोक्रो’, ‘पहिचान’, ‘फुर्वा’, ‘साइलेन्स प्लिज’, ‘रंगहीन पुतली’, ‘द कलरलेस’ र ‘तिर्खा’ लगायत चलचित्र प्रदर्शन हुनेछन् । महोत्सवको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २ लाख, १ लाख ५० हजार र एक लाख रुपैयाँ प्रदान गरिनेछ । प्रदर्शन गरिने चलचित्रहरुमा १७ वटा फिल्म प्रतिस्पर्धात्मक खण्डमा छन् भने ३२ चलचित्र गैर-प्रतिस्पर्धात्मक खण्डमा समावेश गरिएका छन् ।

त्यस्तै ‘नेपाल पानोरामा’ अन्तर्गत उत्कृष्ट हुने कथानक (फिक्सन) र गैरकथानक (ननफिक्सन) फिल्मलाई क्रमशः एक लाख र ७५ हजार रुपैयाँ प्रदान गरिनेछ। कथानक विधातर्फको पुरस्कार मिला प्रोडक्सनले र गैरकथानक विधातर्फको पुरस्कार राशी चलचित्र विकास बोर्डले प्रायोजन गर्नेछ ।  किम्फले आयोजना गरेको ‘परिवर्तित नेपाल’ शीर्षकको तीन मिनेटको सर्ट फिल्म प्रतियोगितामा छनोट भएका उत्कृष्ट १० फिल्म प्रदर्शन गरिनेछन् । त्यसबाहेक महोत्सवमा तीन वटा स्वीस फिल्महरूको विशेष प्रदर्शनी पनि गरिने बताइएको छ । स्वीस कथानक चलचित्र ‘हाइडी’ महोत्सवको समापन समारोहमा प्रदर्शन गरिनेछ । माफिल कोट्स (बेलायत), जे. क्यु ली (कोरिया) र ग्याब्रियला कुह्न (पोल्याण्ड) सहितको निर्णायक टोलीले महोत्सवको उत्कृष्ट चलचित्रहरु छनोट गर्नेछन् । महोत्सवमा चलचित्र प्रदर्शनीसँगै विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को हिउँचितुवा संरक्षणसम्बन्धी स्टोरी टेलिङ कार्यक्रम आयोजना हुनेछ। जसमा घनश्याम गुरुङ, समुन्द्र सुब्बा र सेरेन श्रेष्ठ वक्ताका रुपमा रहनेछन् ।