‘रनवे ड्रिम्स २०१९’को उपाधि सिमरन चौधरी र निश्चल न्यौपानेले हात पारेका छन् । ‘ड्रिम्स इन्स्टिच्युट अफ मोडलिङ फेसन’को आयोजनामा शुक्रवार राति थापाथली स्थित ब्लुस्टार इभेन्ट्समा सिमरनले ८ प्रतियोगीलाई पछि पार्दै महिला तर्फ र निश्चलले १९ प्रतियोगीलाई पछि पार्दै पुरुष तर्फको विजेताको ताज पहिरिएका छन् । कार्यक्रममा विजेताले नगद एक लाख बराबरको विभिन्न अवसरका प्याकेज हात पारेका छन् । प्रतियोगितामा केटीतर्फ दिव्या शाह फर्स्ट रनर-अप र रीना गर्सियता सेकेन्ड रनर-अप भइन् । यता केटातर्फ मनोज मान फर्स्ट रनर-अप र आभास भट्टराई सेकेन्ड रनर-अप घोषित भए ।

प्रतियोगितामा गायक निर्णय श्रेष्ठ, मिसेज इन्टरनेशनल हेरिटेज-२०१९ दुर्गा बिसुराल, ब्युटिसियन सिता न्यौपाने पाठक, म्यानहन्ट विजेता ध्रुव बुढाथोकी, फेसन डिजाइनर गोमा तिवारी, केज फिटनेश सञ्चालक उज्वल कृष्ण श्रेष्ठ र संचारकर्मी श्रृजना दुवाल निर्णायक मण्डलमा थिए । प्रतियोगिता युवायुवतीलाई उत्कृष्ट प्रशिक्षणसहित भविष्यमा मोडलिङ र फेसनको जुनै पाटोमा पनि सक्षम बनाउने उद्देश्यले आयोजना गरिएको आयोजक ‘ड्रिम्स इन्स्टिच्युट अफ मोडलिङ फेसन’की सिइयो मञ्जु ढकालले बताइन् ।