भर्खरै खोटाङको हलेसीमा एउटा सेड्युलको छायाङ्कन सम्पन्न भएको चलचित्र ‘झिँगे दाउ’मा आँचल शर्माको फरक लुक सार्वजनिक भएको छ । हलेसीमा छायाङ्कन सकेर टिम भकुन्डेवेसीमा तयार भएको सेटमा काम गरिरहेको छ । कथाले मागे अनुसारको लोकेसन र सेट तयार पार्न कुनै कसर बाँकी नराखेको निर्देशक ज्ञानेन्द्र देउजाले बताएका छन् । चलचित्रमा आँचल ले गाउँले केटीको भूमिका निभाएकी छिन् । सधैँ आधुनिक अवतारमा चलचित्रमा देखिँदै आएकी शर्मा यस पटक फरक स्वरूपमा देखिने भएकी छिन् । उनले सिउँदोमा सिन्दूर, घाँटीमा हरियो पोते, सातो रङ्गको साडी र गुन्यू चोली लगाएकी छिन् । त्यस्तै, हातमा हँसिया र गाईबस्तुका लागि पिठ्युँमा घाँसले भरिएको डोको बोकेकी छन् ।
साहित्यकार भीमनिधि तिवारीको कालजयी कथामा आधारित भएर ‘झिँगे दाउ’ बन्न लागेको हो । कपन गढी सिनेमा प्रा. लिको ब्यानरमा निर्माण भइरहेको चलचित्रको गीतमा अर्जुन पोखरेलले सङ्गीत भरेका छन् । भने, पटकथा एवं संवाद प्रदीप भारद्वाजले तयार पारेका हुन् । चलचित्रलाई विष्णु कल्पितले खिचिरहेका छन् ।