शनिवार भृकुटीमण्डपमा पूर्व मिस नेपालहरू खानेकुरा बेच्न राखिएका स्टल अगाडी बसेर ग्राहकलाई आफ्नो स्टलको खाना खाइदिन अनुरोध गर्दै थिए । योसँगै उनीहरू महिनावारी सम्बन्धी जानकारी र यसको समस्याको बारेमा जानकारी दिइरहेका थिए । यसैबिच पूर्व मिस नेपाल निकिता चन्डक पनि भृकुटीमण्डपमा यसै कार्यक्रममा सक्रियताका साथ सहभागी भएकी थिइन् । उनले सहभागी हुन आएकालाई यसै विषयमा जानकारी दिँदै थिइन् । उनले महिनावारी सम्बन्धी आफ्नो अनुभव र समस्या तथा आफूले देखेको यथार्थलाई सेयर गरिन् । उनले कार्यक्रमको आयोजक मितिनि इनिसियटिभ बारे जानकारी दिइन् भने आफ्नो चलचित्र सम्बन्धी अनुभव पनि साटेकी छिन् । उनले बिराज भट्टको चलचित्र 'साङ्लो' मा डेब्यु गर्दै छैन ।
भर्खरै चलचित्रको गीत पनि सार्वजनिक भएको छ । जसलाई दर्शकले राम्रो प्रतिक्रिया दिइरहेका छन् । यसले आफूलाई निकै उत्साहित बनाएको बताएकी छिन् । आफ्नो सपना नै नायिका बन्नु रहेको र यसबाट आफ्नो सपना पुरा हुन गइरहेकोमा गीतलाई जस्तै चलचित्रलाई माया गरिने विश्वास रहेको बताएकी छिन् । यसै गरी निकितालाई बलिउड अभिनेत्री दीपिका पादुकोण जस्तै देखिने भन्ने प्रतिक्रिया दिँदा आफूलाई निकै खुसी लाग्ने भनेकी छिन् । उनी आफूलाई मन पर्ने नायिकासँग दाँज्दा खुसी नलाग्ने कुरै नभएको बताउँछिन् ।