निकेश खड्काको निर्देशनमा बन्ने चलचित्र ‘चपली हाइट ३’ को यति बेला धमाधम छायाङ्कन भइरहेको छ । फरक जनरामा निर्माण हुन लागेको यस चलचित्रमा अभिनेता अर्पण थापाको इन्ट्री भएको छ । उनको इन्ट्रीको खबरसँगै उनको चलचित्रको लुक्स पनि सार्वजनिक भएको छ । निर्माता अर्जुन कुमारले अर्पणको तस्बिर सार्वजनिक गरेका हुन् भने यसमा उनी नेगेटिभ रोलमा भएको अनुमान लगाउन सकिन्छ । चैत्र २८ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी लगायतका कलाकारको अभिनय छ । अर्जुन कुमारको लगानीमा बन्ने चलचित्रमा चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्काले प्रमुख भूमिका निभाउनेछिन् भने उनको जोडी नव-अभिनेता महेश त्रिपाठीसँग बाँधिने भएको छ । साथमा सुपुष्पा र नव-अभिनेता प्रतीकलाई पनि जोडीको रूपमा देख्न सकिनेछ । अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले संयुक्त रूपमा निर्माण गर्ने चलचित्रमा पहिलो शृङ्खलाका अभिनेता आमिर गौतमले मात्र स्थान पाएका छन् ।