गत शुक्रवार देखि प्रदर्शनमा आएको चलचित्र 'सरौतो' लाई दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । एक्सन रिभेन्ज स्टोरी रहेको यस चलचित्रको प्रस्तुतीकरणको तारिफ दर्शकले गरेका छन् भने अभिनेत्री सुमी मोक्तानको एक्सनको चर्चा पनि उत्तिकै गरिएको छ । चलचित्रबाट सुमीले राम्रो कलाकारको सम्भावना देखाएकी छिन् । बोल्न नसक्ने एक युवतीको भूमिका निभाएकी सुमीले एक्सन गर्ल बन्न नै निकै परिश्रम गरेकी थिइन् । झन्डै २ वर्षको सिकाइपछि उनले आफूलाई उक्त रोलको लागि फिट बनाएकी थिइन् । छायाँकार हरि हुँमागाईंको डेव्यु निर्देशन रहेको फिल्मको एक्सन र सस्पेन्सलाई विशेष गरी रुचाइएको छ । चलचित्रको विशेष सो हेर्न निम्त्याइएका पाहुनाले पनि राम्रो भनेका छन् । मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, दीपकराज गिरी, केदार घिमिरे लगायतले चलचित्र बारे सकारात्मक प्रतिक्रिया दिएका छन् । चलचित्र हेरेपछि मदनकृष्ण श्रेष्ठले आफूलाई चलचित्र चाइनिज या जापनिज फिल्म हेरेजस्तो लागेको र एक्सन तारिफ योग्य रहेको बताएका छन् ।

यसै गरी हरिवंश आचार्यले चलचित्र टेक्निकल्ली निकै बलियो रहेको र कलाकारको अभिनयले पनि दर्शकलाई सन्तुष्ट पार्नेमा आशावादी देखिए । यसै गरी दीपकराज गिरीले चलचित्र मनोरञ्जनको प्याकेज रहेको र टेक्निकल्ली डेब्यु निर्देशक हरि हुमागाँई निकै बलियो रहेको ब ताएका छन् । चलचित्रमा सुमीसँगै लियो ट्याङ्क, सन्नी सिंह, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, लियो ट्याङ्क, विजय लामा, धिरेन शाक्य, युवराज लामा, मनिषा पुन मगर, प्रतीक दुलाल, राजेश रोय, मनोज तामाङ लगायतको अभिनय रहेको छ । बिराञ्जना इन्टरटेनमेन्ट , स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको चलचित्रमा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, प्रविन मानन्धरको कलर, ब्याक ग्राउन्ड स्कोर ग्लिटर स्टुडियो, शङ्कर महर्जनको एक्सन रहेको छ । यसमा राजन राज सिवाकोटी, पुष्पन प्रधान, कमल खत्री, भिटेनको सङ्गीत रहेको छ भने राजन, पुष्पन र कमलसँगै मिलन अमात्य, भिटेन, श्रेया सोताङले स्वर दिएका छन् ।