चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछाने लाई टेलिभिजन कार्यक्रम 'सिधा कुरा जनतासँगले एउटा उचाइमा पुर्यायो । आज भन्दा छ वर्ष अगाडी न्युज २४ मा निरन्तर ६० घण्टाभन्दा बढी समय अन्तरवार्ता कार्यक्रम सञ्चालन गरेर उनले विश्व रेकर्ड कायम गरेका थिए । तर उनलाई यसले भन्दा ‘सिधा कुरा जनतासँग’ ले उचाइमा पुर्यायो । दर्शकको मन र विश्वास जित्न सफल यिनै रवि लामिछाने अब नयाँ कार्यक्रममा देखिने भएका छन् । नेपालमा ‘को बन्छ करोडपति’ भित्र्याएको एसआरबिएन मिडियाले सार्वजनिक गरेको एक तस्बिरमा लामिछाने छिट्टै विशेष कार्यक्रमसँगै दर्शकमाझ आउन लागेको सङ्केत मिलेको छ । एसआरविएन मिडियाका सिइओ विपिन आचार्य, क्रियटिभ डाइरेक्टर सुरक्षा अधिकारी र रवि लामिछाने सहितको तस्बिरमा उनीहरूले पोस्टर समातेका छन् जसमा 'केही फरक, केही विशेष' लेखिएको छ । यति बेला‘को बन्छ करोडपति’को पहिलो सिजन सम्पन्न भैसकेको छ । रविसँग कुन कार्यक्रमको लागी सहकार्य भएको हो त्यो सार्वजनिक गरिएको छैन । तर कार्यक्रमको छिट्टै घोषणा हुने बताइएको छ ।