'मिस नेपाल वर्ल्ड’ अनुष्का श्रेष्ठ ‘मिस वर्ल्ड २०१९ ’ मा सहभागी हुन बेलायत पुगिसकेकी छिन् । डिसेम्बर १४ मा आयोजना हुने ‘मिस वर्ल्ड’ अनुष्काले नेपालको राम्रो र सम्मानजनक रूपमा प्रतिनिधित्व गर्नेमा सबैले आशा राखेका छन् । यसै आशालाई ‘मिस नेपाल वर्ल्ड–२०१८’ कि विजेता शृङ्खला खतिवडाले पनि व्यक्त गरेकी छिन् । उनले अनुष्काले ताज घर भित्राउने छिन् र त्यसमा आफूलाई विश्वास भएको भनेकी छिन् । ‘मलाई थाहा छ, यो धेरै नै चाँडो हुनेछ तर मलाई अनुष्काले ताज घर भित्राउनेछिन् भन्ने महसुस हुन थालेको छ । यी स्मार्ट महिला हरेक गतिविधिमा चम्किएकी छिन् । अक्सफोर्ड युनिभर्सिटीमा बोल्नका लागि उनलाई अडिसन चरणबाट चयन गरिएको थियो । अब, उनले शक्तिशाली रातो पोसाकमा हाउस अफ लड्र्समा एसिया महाद्वीपको प्रतिनिधित्व गर्नेछिन् ।’ योसँगै उनले आफ्नो अनुभवका आधारमा पनि यी अवसरहरू उनका लागि विशाल भएको र अनुष्का सबैको आँखामा परिसकेकी भनेकी छिन् । अनुष्कालाई आफूले ‘हेड टू हेड च्यालेन्ज, मल्टिमिडिया’ लगायतको अवार्डको विजेताको रूपमा देखिसकेको र रातो रङ्ग तिम्रो हो समेत भनि हौसला दिएकी छिन् । मिस वर्ल्डको तयारीसँगै अनुष्काले आफ्नो देशको प्रचार–प्रसार पनि गरिरहेकी छिन् । उनले ‘भिजिट नेपाल २०२०’ लाई विशेष रूपमा प्रचार गरिरहेकी छिन् ।