राजेश हमाल, भुवन केसी र शिव श्रेष्ठ यो तीन नामले नेपाली चलचित्रको इतिहास बोकेको छ । यी तिनै नायकलाई एकै साथ देख्न कुनै सानो अवसरमा पक्कै सम्भव नहुन सक्छ । केही दिन अघि अमेरिकामा आयोजना भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा तीन नायक एकसाथ स्टेजमा देखिएका थिए । तिनै नायक अवार्ड समारोहमा विभिन्न अवार्डबाट सम्मानित भएका थिए । अमेरिकाको सान फ्रान्सिस्कोमा आयोजना भएको अवार्डमा एकसाथ उपस्थित हुँदा माहौल नै अर्कै किसिमको बनेको थियो ।
आ-आफ्नो काममा व्यस्त यी तीन नायकलाई एकै स्टेजमा देख्दा यसरी माहौल फेरिन्छ भने पक्कै पनि यिनलाई एकै पर्दामा देखिने हो भने दर्शकले केही राम्रो स्वाद पाउने थिए । यति बेला, नायक भुवन केसी चलचित्र निर्माण, निर्देशक तथा अभिनयमा व्यस्त छन् भने शिव श्रेष्ठ पनि अभिनयमा नै व्यस्त छन् । नायक हमाल केही समययता चलचित्र पर्दामा देखिएका छैनन् । यद्यपि उनी यसै क्षेत्रमा सक्रिय भएर लागी रहेका छन् ।