अभिनेता विपिन कार्की अभिनीत चलचित्र ‘सेल्फी किङ’ को अफिसियल टिजर सार्वजनिक भएको छ । विशाल सापकोटाको डेब्यू निर्देशनमा तयार भएको यस चलचित्रको मङ्गलवार राती सार्वजनिक गरिएको १ मिनेट २ सेकेन्ड लामो टिजरमा अभिनेता विपिन कार्कीलाई नै महत्त्वका साथ प्रस्तुत गरिएको छ । टिजरमा एउटा निकै मार्मिक र घतलाग्दो डाइलग छ जसले चलचित्रको सार प्रस्ट पार्छ । 'स्टारडम, सेलिब्रेटी, पपुलारिटी भन्ने कुरा छ नि मुतको न्यानो मात्रै हो । एक छिन तातो हुन्छ, मज्जा आउँछ । एक छिनमा जब चिसो हुन्छ नि अनि गनाउन थाल्छ, घिन लाग्न थाल्छ ।’ यो त्यस्तो डाइलग हो जसले सफलताको उत्कर्षमा रहँदा एउटा कलाकारको रवाफ र आउटडेटेड भइसकेपछि को अवस्थालाई चित्रण गर्छ । ‘सेल्फी किङ’को नामले परिचित एक चर्चित हास्य कलाकार(टेलिभिजन)ले कला यात्राको दौरान आफूले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने सङ्घर्षको कथा बोकेको चलचित्रमा विपिन कार्कीले गोपाल दाहाल अर्थात् हास्य कलाकारको भूमिका निर्वाह गरेका छन् । 

विशाल सापकोटाको डेब्यू निर्देशनमा तयार भएको यस चलचित्र आगामी माघ २४ मा अल नेपाल प्रदर्शनमा आउने छ ।  चलचित्रमा विपिनका अलावा चलचित्रमा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बास्तोला, कमल देवकोटा, राजेश बिसुरालगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारी विशेष भूमिकामा देखिने छिन । चलचित्र ‘प्रसाद’ का निर्माता सुभाष थापा र सोही चलचित्रका निर्देशक दिनेश राउतले संयुक्त रूपमा निर्माण गरेको चलचित्रमा निर्देशक विशालकै लेखन, सुसन प्रजापतिको छायाङ्कन, जीवन थापाको सम्पादन, सुवास भुसालको सङ्गीत, बि । पाण्डेको शब्द, अन्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको सङ्गीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, विनोद पोखरेलको स्टिल फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहने छ ।