पूजा शर्मा र आकाश श्रेष्ठको जोडी अभिनीत चलचित्र ‘सम्झना बिर्सना’को यति बेला सिलिगुडीमा छायाङ्कन भइरहेको छ । पूजाले चलचित्रमा आफ्नो नाम र लुक्स सार्वजनिक गरेकी छिन् । चलचित्रमा उनी ‘सम्झना’को भूमिकामा देखिँदै छिन् । सार्वजनिक तस्बिरमा पूजालाई कतै लजालु युवती त कतै उनी रिसाहा अवतारमा देखिएकी छिन् । पूजाको लुक्सले पनि चलचित्रप्रति कौतुहलता पैदा गरिदिएको छ । निमेष प्रधानले निर्देशन गरिरहेको चलचित्रमा  पूजा र आकाशसँगै छुल्ठिम  गुरुङ, सुनिल थापा, शिशिर राणा, मेनुका प्रधान, मदन भुजेललगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ । आदित्य फिल्मसको ब्यानरमा निर्माण भइरहेको चलचित्रलाई शिव ढकालले खिचिरहेका छन् । वेस्ट बेंगलका रमणीय स्थानमा ‘सम्झना बिर्सना’को छायाङ्कन गरिने निर्माण पक्षले बताएको छ । ‘रामकहानी’बाट सहकार्य सुरु गरेको यो पूजा- आकाशको जोडी स्टारर चलचित्र ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ ।