मङ्सिर २० गतेबाट प्रदर्शनमा आउने चलचित्र 'माछा माछा' को आज बुधवार प्रिमियर भइरहेको छ । सुनिल गुरुङले निर्देशन गरेको यस चलचित्र क्राइम कमेडी जनरामा बनेको छ। चलचित्र उनको डेब्यु निर्देशन हो । पहिलो चलचित्रबाटै गुरुङले एक किसिमको चर्चा पाइसकेका छन् । अब, दर्शकले उनलाई कसरी स्वागत गर्छन् त्यो त शुक्रवारबाटै थाहा लाग्नेछ । यो भन्दा अगाडी चलचित्र प्रति दर्शकलाई अझ आशावादी बनाउन र प्रतिक्रिया लिन आयोजना गरिएको प्रिमियरमा कलाकार, संचारकर्मी लगायतको बाक्लो उपस्थिति रहेको छ ।
बिग मुभिजमा आयोजना भइरहेको प्रिमियरमा गौरव पहारी , मिरुना मगर , बुद्धि तामाङ, असिफ शाह, असिम शाह लगायतको उपस्थिति रहेको छ । तीन जना गाउँले युवाले सहरमा जीवन स्थापित गर्न लागिपरेको सङ्घर्षको कथा चलचित्रले उठाएको छ । मुख्य पात्रमा अभिनेता सौगात मल्ल, विजय बराल र अनोज पाण्डे छन् भने यसमा नम्रता श्रेष्ठ पनि अटाएकी छिन् । निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईले लगानी गरेको चलचित्रमा शिवराम श्रेष्ठको छायाङ्कन, अनुपम शर्माको सङ्गीत, निमेष श्रेष्ठको सम्पादन र प्रविण सिंहको कोरियोग्राफी रहेको छ ।
सिनेमा आर्टको प्रस्तुतिमा नौमती इन्टरटेनमेन्टले चलचित्र निर्माणमा सहकार्य गरेको छ । मणिराम पोखरेलको कार्यकारी निर्माण रहेको 'माछा माछा'मा ओम चन्द रौनियार र अर्जुन कार्कीको सह-लगानी छ ।