मङ्सिर २० गतेबाट प्रदर्शनमा आउने चलचित्र 'माछा माछा' को बुधवार प्रिमियर सम्पन्न भयो । अभिनेता दयाहाङ राई र ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले निर्माण गरेको यस चलचित्रलाई डेब्यु निर्देशक सुनिल गुरुङले निर्देशन गरेका हुन् । बुधवार बिग मुभिज मा सम्पन्न प्रिमियरमा निर्माता दयाहाङको टिम लगायत अन्य कलाकारको पनि राम्रो उपस्थिति रहेको थियो । चलचित्र हेरेका सबैले चलचित्रप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् । चलचित्र हेर्न अभिनेत्री मिरुना मगर, गौरव पहारी, बुद्धि तामाङ, असिफ शाह, असिम शाह लगायतको उपस्थिति रहेको थियो । उपस्थित सबैले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका थिए । चलचित्रको सम्पूर्ण पक्ष राम्रो भएको र दर्शकलाई पूर्ण मनोरञ्जन प्रदान गर्ने चलचित्र भएको सबैले बताएका छन् । कुराकानीमा निर्माता कलाकार दयाहाङले दर्शकले पैसा तिरेर चलचित्र हेरिसकेपछी कुनै पछुतो नहुने बताएका छन् । आफूले सोचेको तरिकाले चलचित्रमा निर्माण भएको उनको भनाइ छ ।
दयाहाङले आफूले लगानी गरेर निर्माण गरेको चलचित्रमा अतिथि भूमिका मात्र निभाएको बारे उनी भन्छन्, ‘निर्देशकले हरेक क्यारेक्टर सोचेर र कथा अनुसार राखेका थिए र आफूलाई शीर्ष भूमिकाको लोभ लाग्ने भए पनि चलचित्रको कथामा फिट थिइनँ । त्यसैले मलाई यसमा शीर्ष भूमिकामा देखिने लोभ जागेन । एउटा कलाकार लोभी त हुन्छ तर फिट नभएको ठाउँमा जबरजस्ती काम गर्नुको कुनै औचित्य हुँदैन ।’ चलचित्रको कथा राम्रो लागेर लगानी गरेको तर यसैबाट करोडौँ कमाउने लोभमा आफूले फिल्ममा लगानी नगरेको उनको भनाइ छ । यसै गरी चलचित्रका मुख्य अभिनेता सौगात मल्ल आफूले काम गरेको चलचित्र हेर्दा अप्ठेरो लाग्ने र सधैँ कमजोरीहरू औँल्याउने तर दर्शकले आफ्नो काम मन पराउने विश्वास भएको बताएका छन् । चलचित्रकी मुख्य अभिनेत्री नम्रता श्रेष्ठले यो चलचित्र हेरेपछि आफू सौगातको झन ठुलो फ्यान भएको बताएकी छिन् ।
यसै गरी चलचित्र हेर्न पुगेका गौरवले चलचित्र निकै राम्रो लागेको र सबै कलाकारको काम निकै प्रशंसनीय रहेको बताएका छन् । तीन जना गाउँले युवाले सहरमा जीवन स्थापित गर्न लागिपरेको सङ्घर्षको कथा चलचित्रले उठाएको छ । मुख्य पात्रमा अभिनेता सौगात मल्ल, विजय बराल र अनोज पाण्डे छन् भने यसमा नम्रता श्रेष्ठ पनि अटाएकी छिन् । निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईले लगानी गरेको चलचित्रमा शिवराम श्रेष्ठको छायाङ्कन, अनुपम शर्माको सङ्गीत, निमेष श्रेष्ठको सम्पादन र प्रविण सिंहको कोरियोग्राफी रहेको छ ।